आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली नामिबियाले अंक बाँडेका छन् । वर्षा बाधक बनेपछि दुवै टिमले एकरएक अंक बाँडेका हुन् । नामिबियाले पहिलो ओभरको चौथो बल खेल्दा पानी परेको थियो । त्यसपछि लामो समय वर्षा बाधक बनेपछि दुवै टिम अंक बाँड्न बाध्य भए ।

विश्वकप लिग–२ सिरिजमा यी दुई टोलीले पहिलोपटक वर्षाका कारण अंक बाँडेका हुन् । अमेरिकासँग टाई म्याच खेल्दा भने नेपालले यसअघि एक अंक बाँडेको थियो । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । ९४ बलको सामना गरेका उनले सात चौका दुई छक्कासहित ७५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा ज्ञानेन्द्रको यो करियरकै उच्च स्कोर हो । यसअघि यो प्रारूपमा उनको उच्च पारी ६६ रन थियो । ज्ञानेन्द्रले आज ६० बलमा चार चौका र दुई छक्कासहित अर्धशतक पूरा गरेका थिए ।

योसँगै उनले इतिहास पनि रचे । अब ज्ञानेन्द्र नेपालका लागि एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन् । यसअघि उनी, रोहित पौडेल र आसिफ शेखले पाँचरपाँच अर्धशतक बनाएका थिए । अब रोहित र आसिफलाई पछि पार्दै ज्ञानेन्द्र शीर्ष स्थानमा उक्लिएका छन् । एकदिवसीयमा उनको यो लगातार दोस्रो अर्धशतक पनि हो ।

ज्ञानेन्द्रले नामिबिया जानुअघि घरेलु मैदानमा भएको यूएईसँगको तेस्रो एकदिवसीयमा पनि अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, नामिबियाविरुद्ध आरिफ शेखले २३, आसिफ शेखले २०, अर्जुन साउँद, गुल्शन झाले १८र१८, कुशल भुर्तेलले १३, रोहित पौडेल र सोमपाल कामीले १०र१० रन जोडे । दीपेन्द्रसिंह ऐरी भने शून्यमै आउट भए । उनी एकदिवसीयमा सातौँपटक शून्यमै आउट भएका हुन् ।

नामिबियाका लागि टांगेनी लुंगामेनीले १० ओभरमा एक मेडनसहित ४२ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, कार्ल बर्केनस्टकले दुई, कप्तान गेर्हार्ड इरास्मस, बर्नार्ड स्कोल्ट्ज र जेजे स्मितले एक एक विकेट हात पारे । विश्वकप लिग–२ को अंक तालिकाको कुरा गर्दा नेपाल छैैटौँ स्थानमा छ ।

१८ अंक जोडेको नेपालले २१ म्याच खेलेको छ । जसमा नेपालले ११ मा हार, आठमा जित र दुई खेलमा अंक बाँडेको छ । त्यस्तै, २७ म्याच खेलेको नामिबिया तालिकाको चौथो स्थानमा छ । उसले १६ मा जित, १० मा हार र एक खेलमा अंक बाँडेको छ । त्यस्तै, तालिकाको शीर्षमा ओमान, दोस्रोमा स्कटल्याण्ड, तेस्रोमा अमेरिका, पाँचौँमा यूएई र सातौँमा पिएनजी छ ।

  ११६ खेल सकिँदा यस्तो बन्यो लिग–२ तालिका :-


Table-1