खोटाङ,३ कात्तिक । भोली हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनमा खोटाङको एउटा यस्तो नमुना मतदान केन्द्र जहाँ महिला कर्मचारी मात्र खटिएका छन् । दिक्तेलको सरस्वती मावि (ख) केन्द्रमा अधिकृत छैठौँ सर्मिला राईको नेतृत्वमा सात महिला खटिएका हुन् ।
साकेला गाउँपालिकामा कार्यरत राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको हो । सो केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत पाँचौं स्तरका कर्मचारी इरन राईलाई सहायक मतदान अधिकृत, सोही नगरपालिकामा कार्यरत पाँचौ स्तरका कल्पना पोखरेल र चौथो स्तरका अरुणा बानियाँलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी प्राशि द्धितीय सविता ढकाल, हलेसी तुवाचुङ नगरपालिकाकी प्राशि तृतीय देवी राई, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चौथो स्तरका सिता यादवलाई सहायक कर्मचारीका रुपमा खटाएको छ ।
जिल्ला अदालतकी सरस्वती दाहाललाई सहयोगीका रुपमा खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नमूना मतदान केन्द्रका रुपमा एउटा मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्रै खटाइएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । मतदान केन्द्रमा खटिएका महिला कर्मचारीको टोलीले मतदानस्थल तयार पारेर मतदाता नामावली वितरण, बुथ प्रतिनिधि कार्ड वितरण गरिरहेका छन् ।



















