चन्द्र पौडेल
बेलबारी, २९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्याउने बताएकी छन् । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताइन् । मोरङ बेलबारी–९ बाहुनीमा रहेको श्री जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित शैक्षिक तथा प्रशासनिक भवनको उद्घाटन तथा स्वर्गीय संस्थापक अध्यक्ष दुखीलाल चौधरीको सालिक अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गरीन् । उनले भनीन्, “यस विद्यालयले राष्ट्रलाई शैक्षिक जनशक्ति उत्पादनमा पुयाउँदै आएको योगदानको प्रशंसा गर्न चाहान्छु ।
मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षालाई मूल पूर्वाधारको रूपमा लिइन्छ । तसर्थ हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदामा आधारित उद्यमशीलता प्रवद्र्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधि उन्मुख हुनुपर्दछ ।”
त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रको समृद्धि तथा विकासका निम्ति स्रोत र साधनको पहिचान गरी त्यसको दिगो उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै शिक्षाको मूलभूत उद्देश्य रहेकोसमेत बताइन् ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकनारायण साहले स्वर्गीय संस्थापक अध्यक्ष चौधरीको योगदानको प्रशंसा गदै इतिहासमा शिक्षा समाजको दायित्व रहेको भन्दै समाजमा योग्य र दक्ष जनशक्तिको निमित्त विद्यालय निरन्तर लागि परेको बताए । उनले भने “शिक्षाको दायित्व पूरा गर्नका लागि राज्य अग्रसर हुन जरुरी छ । यसलाई प्राथमिकतामा राख्न जरुरी छ ।
आमनागरिकले शिक्षाको दायित्व राज्यको हो भन्ने महसुुस गर्ने गरी सरकारी विद्यालयलाई विकास गर्नु जरुरी छ । आजको आवश्यकता प्राविधिक शिक्षा मात्र होइन । शिक्षालाई प्रविधिकरण गर्न पनि जरुरी छ ।” उनले सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीले मन दुखाउनुपर्ने अवस्था निर्माण भएको भन्दै सरकारले लगानी गरेका विद्यालयमा विद्यार्थीको तँछाडमछाड हुनुपर्ने वातावरण बनाउनुपर्ने बताए । सार्वजनिक विद्यालयमा भर्ना हुन पाउँदा गर्व गर्नुपर्ने भन्दै उनले तर त्यस्तो हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । वि.स २०१३ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि १२ सम्म कक्षा संचालन हुदै आएको छ ।
२०७४ सालमा नमुना विद्यालयको रुपमा छनोट भएको उक्त विद्यालयमा हाल एघार सय ५ जना विद्यार्थी रहेको र विद्यालयले निकट भविष्यमा स्नात्त सम्मका कक्षाहरु संचालन गर्ने तयारी गरिरहेको प्रधानाध्यापक साहले बताए ।
समारोहका केही झलकहरु :-























