विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी लियोनल मेस्सीले अर्को कीर्तिमान पनि बनाएका छन्। मेस्सीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका थिए। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

तर ८ वर्षपछि फेरि फाइनलमा पुगेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै तेस्रो पटक विश्वकपको उपाधि जितेको हो।

अर्जेन्टिनालाई उपाधि जिताउँदा मेस्सीले फाइनलमा २ गोल गरे । जारी विश्वकपमा उनले ७ गोल गरे। फाइनलमा भने अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गरेको हो ।

निर्धारित समय २–२ मा सकिएको खेल अतिरिक्त समयमा पनि बराबरी भएको थियो । अतिरिक्त समयमा खेल ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

यो विश्वकपमा मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक गोल कर्ता, सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी लगायतका कीर्तिमान समेत बनाए । त्यो भन्दा बढी त उनले विश्वकप जिताउने ठूलो लक्ष्य पूरा गरे। यो सँगै मेस्सीले खेलेका सबै खालका उपाधि जितेका छन् ।