आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध नेपाल तीन विकेटले पराजित भएको छ । लिग–२ मा नेपालको यो १२ औं हार हो । स्टकल्याण्डको भने यो २१ औं जित हो । लिग–२ मा आफ्नो ३० औं म्याचमा नेपालले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि क्रिस्टोफर म्याकब्राइडले ४३, ब्रान्डन म्याकमुलेनले अविजित ३२, माइकल लिस्कले २२, जर्ज मुन्सीले १७ र म्याथ्यू क्रसले १३ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशी, गुल्शन झा, सागर ढकालले दुईरदुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । त्यसअघि नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनायो ।
नेपालका लागि गुल्शन झाले २९, ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउँदले १८, कप्तान रोहित पौडेलले १८ र आरिफ शेखले १० रन बनाए । दीपेन्द्रसिंह ऐरी (९), आसिफ शेख (७), कुशल भुर्तेल (शून्य) र करण केसी (८) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालको पारीलाई ध्वस्त पार्न स्कटल्याण्डका तीव्र गतिका बलर क्रिस सोलेले शानदार बलिङ गरे । उनले ७ ओभरमा १ मेडनसहित १२ रन मात्र खर्चदै महत्वपूर्ण तीन विकेट लिए ।
त्यस्तै, मार्क वाटले दुई, सफायान सरिफ, माइकल लीस्क र ब्रान्डन म्याकमुलेनले एकरएक विकेट हात पारे । जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा वर्षाका कारण नामिबियासँग अंक बाँडेको थियो । आजको जितसँगै नामिबिया विश्वकप लिग–२ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ऊ ओमानलाई पछि पार्दै शीर्ष उक्लिएको हो । स्कटल्याण्डले ३० म्याच खेल्दा २१ मा जित, सातमा हार र दुई खेलमा अंक बाँडेको छ । ४४ अंक जोडिसकेको स्कटल्याण्ड शीर्ष तीनमा रहेर आगामी वर्षको एकदिवसीय विश्वकप छनोट खेल्ने पक्काजस्तै छ । छैटौँ स्थानमा रहेको नेपालले २२ खेलमा १२ मा हार, आठमा जित र दुई खेलमा अंक बाँडेको छ ।




















