बिराटनगर । नामिबिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल आज दिउँसो १ः४५ देखि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सुरु हुनेछ । जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले वर्षाका कारण नामिबियासँग अंक बाँडेको थियो । नामिबियासँग पहिला ब्याटिङको मौका पाउँदै नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनायो । जसमा ज्ञानेन्द्र मल्लले ९४ बलमा दुई छक्का र सात चौकासहित सर्वाधिक ७५ रन बनाए । नामिबियाविरुद्ध नेपालले सुस्त सुरुवात गर्यो । बीचमा राम्रो ब्याटिङ गरे पनि नेपालले कमजोर फिनिसिङ गर्दा मध्यम लक्ष्य मात्र दिन सकेको थियो । स्कटल्याण्डविरुद्ध नेपालले त्यो गल्ती दोहोर्याउनु हुन्न । तुलनात्मकरूपमा स्कटल्याण्ड लिग–२ को बलियो टिम हो । उसले २९ म्याच खेल्दा सात खेलमा मात्र हार बेहोरेको छ । स्कटल्याण्डले २० मा जित हात पार्दा २ खेलमा अंक बाँडेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म स्कटल्याण्डसँग नेपालले दुई म्याच खेलेको छ । जसमा नेपालले एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध पहिलोपटक १३ जुलाई २०२२ मा खेलेको थियो । सो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।
सोही महिनाको १७ जुलाईमा भएको खेलमा भने स्कटल्याण्डविरुद्ध नेपाल ८ विकेटले पराजित भयो । नेपाल यसपटक स्कटल्याण्डविरुद्ध सोही हारको बदला लिन चाहन्छ । स्कटल्याण्डविरुद्ध नेपालले प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना कम छ ।
स्कटल्याण्डविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ स् आसिफ शेख, अर्जुन साउँद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।

















