दोहा । अतिरिक्त समयमा पनि गोल नभएपछि ट्राई ब्रेकरमा पुगेको जापान र क्रोयसिया बीचको खेल ३–१ गोल अन्तरले क्रोयसियाले जितेको छ । क्रोयसियाका गोलकिपर लिनाकोभिच ३ पेनाल्टी बचाउँदै हिरो सावित भएपछि जापान इतिहास रच्नबाट चुकेको हो ।
जापानका हानेको पेनाल्टी बचाएर क्रोयसियाका गोल किपर लिभाकोभिच हिरो सावित भए । निर्धारित ९० मिनेटकोे खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पहिलो हाफको ४३औं मिनेटमा गोल गरेर जापानले अग्रता लिएको थियो । तर दोस्रो हाफको ५५ औं मिनेटमा क्रोयसियाले गोल फर्काउँदै खेल बराबरीमा पुर्यायो । त्यस पछि थपिएको ३० मिनेटमा दुवै तर्फबाट गोल हुन सकेन । त्इसपछि खेल ट्राईब्रेकरमा प्रवेश गरेको हो । पहिला पेनाल्टी प्रहार गरेका जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए । मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे ।
क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे । क्रोयसियाले अब क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ । यसअघि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा खेल्ने पक्का भइसकेको छ ।

















