कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८.४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२.४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो । यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

फिफा विश्वकप फुटबलमा गोल्डेन बुटको दौड सुरु :-

फिफा विश्वकप फुटबल २०२२ मा नकआउट चरणका खेल सकिदाँसम्म १ सय ४८ गोल भएका छन् । यसमध्ये समुह चरण अन्तर्गत भएका कुल ९६ खेलमा १ सय २० गोल भएका थिए । पहिलो लिगमा ४१, दोस्रो लिगमा ४० र तेस्रो लिगमा ३९ गोल भए । नकआउट चरणमा भएका आठ खेलमा २८ गोल सम्भव भए । नकआउट चरणका खेल सकिँदासम्म पेनाल्टीमा ११ गोल भएका छन् । पेनाल्टीमा पोर्चुगलले २ गोल गर्दा पोल्याण्ड, इरान, जर्मनी, सेनेगल, इक्वेडर, स्पेन, ब्राजिल, वेल्स र अर्जेन्टिनाले समान एकरएक गोल गरेका छन् ।

विश्वकपले आफ्नो रफ्तार र लय पक्डिंदै गर्दा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुट अवार्डको दौड पनि सुरु भएको छ । गोल्डेन बुटका लागि विश्वका उत्कृष्ट फुटबलरहरुबीच प्रतिस्पर्धा हुने गर्छ । २२ औं संस्करणको प्रि–क्वाटरफाइनलका खेल सकिँदासम्म फ्रान्सका केलियन एम्बापपेले सर्वाधिक ५ गोल गरेका छन् । अघिल्लो विश्वकपमा नै एमबापे ब्राजिलका पेलेपछिका सबैभन्दा कम उमेरमै फुटबलको महाकुम्भमा गोल गर्ने दोस्रो खेलाडी बनेका थिए । १९५८ को विश्वकपमा गोल गर्दा पेलेको उमेर १७ वर्ष २ सय ४९ दिनको थियो । २०१८ मा एमबापेले गोल गर्दा उनी १९ वर्ष २ सय ७ दिनका थिए । जारी विश्वकपमा फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यस संस्करणमा फ्रान्सले समग्रमा ९ गोल गरेको छ ।

यस्तै, अर्जेन्टिनाका लागि लियोनल मेसीले सर्वाधिक ३ गोल गरेका छन् । ३ मध्ये मेसीले पेनाल्टीमा १ गोल गरे । क्वाटरफाइनल प्रवेश गरिसकेको अर्जेन्टिनाको नाममा कुल ७ गोल छ । यस संसकरणमा ब्राजिलले पनि अहिलेसम्म कुल ७ गोल गरेको छ । ब्राजिलका रिर्चालिसनले व्यक्तिगत ३ गोल गरेका छन् । यस्तै, क्रोएसियाले गरेको कुल ५ गोलमध्ये आन्द्रेज क्रमारिकले व्यक्तिगत २ गोल गरेका छन् । विश्वकपमा नेदरल्यान्ड्सले कुल ८ गोल गर्दा कोडी गाक्पोले व्याक्तिगत ३ गोल गरेका छन् । यो विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने टीममा पोर्चुगल पनि पर्छ । सेलेसाओस डस क्विनास उपनाम पाएको पोर्चुगलले गरेको कुल १२ गोलमा, गोन्सालो रामोसले व्यक्तिगत ३ गोल गरे । उनी जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि हुन् । कतार विश्वकपमा इंग्ल्याण्डले गरेको कुल १२ गोलमा मार्कस रासफोर्डको नाममा ३ गोलमा छ । विश्वकपको २२ औं संस्करणमा सनसनी मच्चाएको मोरक्कोले ४ गोल गरेको छ । क्वार्टरफाइनलमा मोरक्को र पोर्चुगल आमने सामने हुनेछन् । विश्वकपबाट बाहिरिसकेका २४ राष्ट्र मध्ये स्पेनले ९, जर्मनीले ६, सर्बिया, स्विट्जरल्यान्ड्, सेनेगल, कोरिया रिपब्लिक, जापान र घानाले समान ५र५ गोल गरे ।

यस्तै, अष्ट्रेलिया, क्यामरुन, इक्वेडर, इरान र पोल्याण्डले विश्वकपको यस संस्करणमा समान ४र४ गोल गरे । कोष्टारिका, साउदी अरब र अमेरिकाले ३र३ गोल गरे भने मेक्सिको, क्यानडा र उरुग्वेले समान २र२ गोल गरे । विश्वकपको यस संस्करणमा डेनमार्क, आयोजक राष्ट्र कतार, बेल्जियम, ट्युनिसिया र वेल्सले समान १र१ गोल गरेका छन् । विश्वकपमा क्वाटरफाइनलका ४, सेमिफाइनलका २ र फाइनलका १ गरि ७ खेल हुनेछन् । सर्वाधिक गोलकर्ताले गोल्डेन बुटको अर्वाड प्राप्त गर्नेछ ।