सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुको अध्ययन गरेर छानबिन गर्ने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रेमप्रसाद आचार्यको आत्मदाह र उनले उठाएको विषयमा छलफल गर्दै उक्त विषयको अध्ययन गरेर छानबिनमा ल्याउने जिम्मा गृहमन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । 

गृहले छानबिन गरेर आवश्यक कदम चाल्ने उनले बताए । उनले छानविनबाट आएका निष्कर्षमाथि आवश्यक कारबाही सुरु गरिने बताए ।

विभिन्न विषयप्रति असन्तुष्टि जनाउदै मंगलबार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार उपचारका क्रममा निधन भएको थियो ।