प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफूले सुशासन, विकास र समृद्धिका केही रेकर्डहरू बनाउनुपर्ने बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजमति यज्ञडोल सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले यसपटकको कार्यकालय सम्झनयोग्य बनाउने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जनतालाई परिवर्तनको आभास गराउनका लागि आफ्नो अहिलेको कार्यकालमा सुशासन, विकास र समृद्धिका केही रेकर्डहरु बनाउनुपर्ने बताउनुभयो । तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा राष्ट्र र जनताका पक्षमा केही रेकर्ड बनाउनुपर्ने बाध्यता आफूसामु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो (प्रधानमन्त्रीका हैसियतले मैले यो पटक सुशासन, विकास र समृद्धिका केही मानकहरु, केही रेकर्डहरू बनाउनु छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो जीवनको उत्तरार्धमा सम्पूर्ण रुपमा सुशासन र विकासका निम्ति काम गर्ने प्रण गरेको पनि सुनाउनुभयो । विस्तृत शान्ति सम्झौताका कारण अहिले नेपालको राजनीतिक प्रणाली अघि बढ्न सम्भव भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशमा शान्ति र राजनीतिक प्रणालीलाई मध्यनजर गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गरेको र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको द‍ृढ इच्छाशक्तिका कारण सम्भव भएको पनि बताउनुभयो । उहाँले छुटेका सहिदको खोजीका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । पहिलो पटक प्रधानमन्त्री बन्दा विभिन्न कारणले देशको परिवर्तनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्न नसकेको भन्दै प्रचण्डले अब बाँकी कामलाई अहिलेको कार्यकालमा पूरा गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय शहीद तथा शान्ति पार्कमा रहेको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेखीकरणको शुभारम्भ र राष्ट्रिय शहीद स्मारकको उद्घाटन गर्नुभएको थियो ।