वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार उपाधिका लागि जोर्डनसँग खेल्दैछ । लेवनानलाई हराउँदै फाइनल पुगेको नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो ।

साउदी अरबको जेद्धामा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल र जोर्डन दुवै टिम अपराजित रहदै प्रतियोगिताको फाइनल पुगेका हुन् । समूह चरण र सेमिफाइनलसम्म दुवै टिमको प्रर्दशन जबर्जस्त रह्यो ।  नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ ले हराएको थियो भने समूह चरणमा नेपालले सिरियालाई ४–१ ले, इराकलाई ५–० ले र प्यालेस्टाईनलाई ४–० ले पाखा लगाएको थियो । 

नेपालका लागि फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारी हुने छैनिन् । फिफा विन्डो बाहिर परेकाले फाइनल खेल सावित्राले गुमाउने भएकी हुन् । प्रतियोगिताकी सर्वाधिक गोलकर्ता रहेकी सावित्राको अभाव महिला टिमलाई फाइनलमा पर्नेछ । 

सावित्राले सेमिफाइनल सहित समूह चरणका सबै खेलमा नेपालका लागि गोल गरेकी थिईन् । उनी ९ गोल सहित सर्वाधिक गोलकर्ताको दौडमा अघि छिन् । 

फाइनल खेल नेपालका लागि वास्तविक परिक्षा जस्तै हुनेछ । फिफा वरियतामा आफु भन्दा माथि रहेको जोर्डनसँग नेपालको राष्ट्रिय महिला टिमले वास्तविक परिक्षा दिनेछ । नेपालको महिला टिम फिफा वरियताको १ सय ५ औं स्थानमा र जोर्डन ७४ औं स्थानमा छ । 

जोर्डन प्रतियोगिताको साविक विजेता मात्र नभएर प्रतियोगिताको सर्वाधिक सफल टिम समेत हो ।