प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना अन्तिम चरणमा छ । मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेलामा यहाँका युवाहरु भने रोजगारीको खोजीमा भारत जान थालेका छन् ।     

चुनावको रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरुषको संख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ ।

स्थानीयस्तरमा रोजगारीको अवसर छैन’, उनले भने, ‘गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको संख्या बढेसँगै गाउँमा पुरुषको संख्या पातलिन थालेको हो।’ हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवाहरु भारत जान बाध्य भएको उनको भनाइ छ । यहाँका युवादेखि वृद्धसम्मका धेरैजसो व्यक्तिहरु रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का विशाल बुढा बताउँछन् ।

स्थानीयस्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकोले मंसिरदेखि फागुन महिनासम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरु बढी हुने यहाँका स्थानीयवासी बताउँछन् ।     

रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतीपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला फर्कने गर्दछन् । जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा जाने गरेका छन् ।