केहि वर्ष अघिसम्म चाडपर्वको बेला रमाईलो जमघट गराउने,भाईचारा कायम राख्ने पिङ नै एउटा प्रमुख विकल्पको रुपमा हुने गथ्र्यो । तर, हिजोआज यो निकै सुस्ताउँदै गएको अग्रजहरु बताउँछन् । आधुनिक डिजिटल प्रविधिप्रति गहिरो लगाव र विदेशी कला,संस्कृतिको बढ्दो मोहले गाउँघरका पिङ संस्कृति लोप हुदै गएका छन् । दशैं–तिहारसँगै जोडिएर आउने गाउँघरको पहिचान बोकेको पिङलाई लिंगेपिङ, काठे रोटेपिङ जस्ता नामले पनि चिनिने गरिन्छ ।

नयाँ पुस्तामा विदेशी संस्कृति भित्रिएसँगै बिलासी वस्तुको लगावले पिङको रौनकता सेलाउँदै गएको बेलबारी नगरपालिका बस्ले राजु बस्नेतले बताए । ‘दुईचार वर्ष अघिसम्म दशैं–तिहार आउने बित्तिकै लिंगेपिङ लगाईन्थ्यो तर पछिल्लो समय मोबाईल,इन्टरनेटको सहज पहुच, सामाजिक सञ्जाल,टिकटक,भित्रिएपछि पिङको मोह निकै पातलिएको छ, उनले भने हिजोआज गाउँघरमा पिङ लगाउन कसैले खासै चासो पनि देखाउँदैनन् । अब त चाडबाड पनि खल्लो हुन थालेको छ ।’
पछिल्लो पुस्ताका हातहातमा मोबाईल, इन्टरनेटको पहुँच र बढ्दो सामाजिक सञ्जालको मोहले पिङ संस्कृति लोप हुँदै गएको जानकारहरुको बुझाई छ । फेसबुक,टिकटक,इंस्टाग्राम, इमो लगायतका सामाजिक सञ्जालको माध्यमबाट देश–विदेशमा रहने आफ्न्तजनहरुसँग दशैं–तिहार जस्ता पर्वहरुको शुभकामना सजिलै आदानप्रदान हुन्छ । जसका कारण पछिल्लो पिंढीमा पिङ संस्कृतिप्रतिको चासो घट्न थालेको स्थानिय अमर दाहालको ठहर छ । मौलिक पहिचान बोक्ने संस्कृतिको जगेर्ना गर्नुपर्ने चासो नहुनाले पनि बिदेशी संस्कृति मौलाउँदै गएको बेलबारी नगरपालिका कसेनीका डम्बर कार्की बुझाई छ । उनले थपे, ‘दशैंतिहारसँगै जोडिने अर्को नाम पिङ पनि हो, नयाँ प्रविधिको सहि प्रयोगसँगै हाम्रा संस्कृति र पहिचानलाई पनि सँगै लानुपर्छ, पुर्खाहरुदेखि सरु भएको हाम्रो मौलिकतालाई जगेर्ना गरिएन भने भोलि हाम्रो पहिचान पनि नबिलाउला भन्न सकिन्न ।’
प्रविधिले फड्को मारेसँगै पछिल्लो समय पिङ हाल्ने संस्कृति क्रमिक रुपमा हराउँदै गएको छ । सहर-बजार भन्दा पनि विशेषगरी ग्रमाीण समुदायको संस्कृतिसँग जोडिने पिङ संस्कृतिको महत्वलाई नयाँ पिंढीले नै जोगाउनु पर्नेमा धनकुटाका पुष्पराज कट्वालले जोड दिन्छन् ।
‘सधै नयाँ प्रविधि नयाँ विकास भनेर मात्रै हुदैन्, संस्कृति पनि महत्वपूर्ण पाटो हो, नया“पुस्ताले नै चासो दिएनन् भने भावी पिंढीले झन के सिक्लान’ उनले भने, प्रविधिको विकास संगै ग्रमीण समुदायमा प्रविधिकै कारण अघिल्लो पुस्ताले अवलम्बन गर्दै आएका संस्कार,संस्कृति पछिल्लापुस्ताले बेवास्त गर्दै आएकाले धेरैजसो मौलिक संस्कृतिहरु धराशायी तथा केहि त लोप समेत हुने अवस्थामा पुगिसकेका छन् ।




















