विराटनगर । प्रदेश नम्बर १ का नवनिर्वाचित सांसदहरूको सपथ पुस ११ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार सूचना जारी गरी सपथग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो ।

संविधानको धारा १८२ को उपधारा ५, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम सपथग्रहण गराउने सचिवालयले जनाएको छ ।

सपथ लिन आउने सांसदले निर्वाचन आयोगले दिएको प्रदेश सभा सदस्यको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो लिएर दुई घण्टा अघि उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।

आफ्नो मातृभाषामा सपथग्रहण गर्न चाहने प्रदेशसभा सदस्यले उल्था गरेको सपथको व्यहोरा तीन दिनअघि बुझाउन सचिवालयले आग्रह गरेको छ ।

पुस ११ गते सोमबार बिहान ११ः३० बजे ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डल गनगाईंलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गराउने कार्यक्रम छ । ज्येष्ठ सदस्य गनगाईंले अन्य प्रदेश सभा सदस्यलाई सोही दिन अपराह्न १ः३० बजे प्रदेशसभा सचिवालयमा सपथग्रहण गराउने कार्यक्रम रहेको सूचनामा उल्लेख छ । 

319901698_1213277456272083_4544680159402967026_n_20221220195802