विराटनगर । विगत चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा ल्याइएको छ ।

बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो । मेयर नागेश कोइरालाले सम्बन्धित शाखा प्रमुखलाई मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । मर्मतपछि ब्रुमरबाट आज कञ्चनबारीचोकदेखि नहरसम्मको सडक सफाई गरिएको छ । ब्रुमरले सफा गरेपछि दमकलबाट सडक पखालिएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने मेयर कोइरालाको योजनाअन्तर्गत महानगरका मुख्य र बढी आवतजावत हुने सडक पखाल्ने काम भइरहेको छ । मंगलबार एयरपोर्ट रोड पखालिएको थियो ।

ब्रुमरबाट महानगरका मुख्य सडकको धुलो बढारिने छ । लामो समयदेखि थन्किएको ब्रुमर मर्मतपछि कञ्चनबारीचोकदेखि पश्चिम नहरसम्मको सडक सफा गरेर परीक्षण गरिएको छ । “बिग्रिएर लामो समय थन्किएका कारण मर्मत गरेर परीक्षण गरेका छौं,” प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले भने, “अझै केही सानातिना समस्या रहेको छ । अझै परीक्षण गरेर समस्या देखिए मर्मत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइनेछ ।”