पुस । कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु भएको छ ।

उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले बताए । उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ ।

बिर्तामोड-१‚ झापाका पाण्डेले मृत्यु हुनुअघि आफ्नो परिवारलाई भाइबरमार्फत भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । भिडियो कलमा आफू उक्त क्यासिनोको १२ औं तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए । परिवारले भने त्यसो नगर्न र उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए । उनले आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका थिए‚ ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’

बिर्तामोडमा रहेका हजुरबुबा,हजुरआमा र मामाघरतर्फका हजुरबा(हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका छन्‚ ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुवा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा(मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा( राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’

पाण्डे एक महिनाअघि कम्बोडिया पुगेको थिए। उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए ।

उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरेकाले आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका उक्त आगलागीका अन्य भिडियोहरूमा होटलको भवनमाथिबाट हामफाल्दै गरेको दृश्यहरूसमेत देखिएको छ ।

उक्त क्यासिनोमा ४०० जना कार्यरत रहेको र त्यहाँ कार्यरतमध्ये अधिकांश कामदार थाइल्यान्डका भएको बीबीसीले उल्लेख गरेको छ ।