नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ ।

९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिनुभएको हो ।

गृहमन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धानका लागि निर्देशन दिनुभएको हो । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले आजदेखि नै अनुसन्धान सुरु गरिसकेको छ ।

मंगलबार म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको छ । तर ती सोधपुछ गरिएका व्यक्तिबारे भने सीआईबीले खुलाएको छैन् ।