मंसिर, १४ । सल्यानको एक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जिल्लाको शारदा नगरपालिका २ लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका बहुतल्ले भवन निर्माणमा अनियमितता गरेको भन्दै तत्कालीन प्रध्यानाध्यपक माधव विक्रम जिसी, अनुगमन समितिका सदस्य, इन्जिनियर, वडा अध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षसमेत गरी ६ जनाविरुद्ध गैरकानुनी लाभ उठाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो ।
अख्तियातर दुरुपयोग आयोगको कार्यालय सुर्खेतले भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानुनी प्रक्रियासमेत नपुर्याई रकम अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उक्त भवन निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाई झुट्टा कागजात पेस गरेको देखिएको जनाएको छ ।
आयोगका अनुसार उक्त भवन निर्माणमा ८ लाख ७३ हजार ३ सय १२ रुपैयाँ नेपाल सरकारलाई गैरकानुनी हानिनोक्सानी पुर्याएको कसुरमा कर्मचारी तथा पदाधिकारीलाई भ्रष्टाचार ऐन, २०४८ को दफा १८ र ३५ साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सजाय मागदावीसहित बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।



















