डडेलधुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचन उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले आफ्नो चुनावी खर्च जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा सोही निर्वाचन क्षेत्रबाट सातौँ पटक निर्वाचित हुँदा पहिलो पटक निर्वाचनमा सहभागी भएका सुई चुनाव चिह्नका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए ।

ढकालले आइतबार ९मंसिर २५० मा जिल्ला निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरणमा आठ लाख ६७ हजार ९७८ रुपैयाँ खर्च भएको उल्लेख छ । उनले आफू निर्वाचनमा सहभागी हुँदा विभिन्न व्यक्तिहरूले दिएको आर्थिक सहयोग समेत सार्वजनिक गरेका छन् ।

सागर ढकालले जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको चुनावी खर्च विवरण ।

Sagar-Dhakal-Chunabi-Kharcha-bibaran

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु प्रावधान छ। सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ। सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका प्रधानमन्त्री शेर बहादुर देउवाले २६ लाख १२ हजार खर्च भएको जनाएका छन् ।

ढकालले समाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा १७ लाख ३८ हजार ३६३ रुपैयाँ आर्थिक सहयोग जुटेको जनाएका छन् । उनलाई एक हजार ६४१ जनाले रु १ देखि १० हजार रुपैयाँबढी सहयोग गरेका थिए ।

ढकालले सार्वजनिक गरेको विवरणअनुसार ५०२ जनाले १०० रुपैयाँसम्म, ९०३ जनाले रु १०१ देखि एक हजार रुपैयाँसम्म, १८७ जनाले एक हजार १ रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म, २९ जनाले पाँच हजार एक देखि १० हजार रुपैयाँसम्मम र २० जनाले १० हजार भन्दा बढी रकम सहयोग गरेको जनाएका हुन् ।

उनले खर्च भएर बाँकी रहेको रकम डडेलधुराको विकासको लागि खर्च गर्ने समेत जनाएका छन् ।