आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पाँच जना भारतीय नागरिकको समेत निधन भएको छ । तीमध्ये सोनू जयसवाल यतिबेला चर्चामा छन् ।
पोखरामा विमान दुर्घटना हुनुभन्दा केही मिनेटअघि उनले फेसबुकमार्फत लाइभ गरिएको भनिएको एउटा भिडियो अहिले नेपालमात्र होइन भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उक्त भिडियोलाई भारतीय सञ्चार माध्यमहरुले सत्य भएको दावी गरेका गरेका छन् भने यती एयरलाइन्स तथा नागरिक उड्डयन प्राधिकरणले भने उक्त भिडियोलाई फेक भनेका छन् ।
भिडियोमा सोनूले विमानको झ्यालबाट पोखरामा अवतरण हुनै लाग्दाको दृष्य कैद गरेका छन् भने त्यसको केही सेकेण्डपछि विमान कोल्टे परेपछि विमानमा हो–हल्ला भएको सुनिन्छ । लगत्तै भिडियोमा विमानमा आगो लागेको दृष्य देखिन्छ ।
यो भिडियोलाई अधिकांशले वास्तविक भिडियो भैरहेको बताइरहेका छन् । यती एयरलाइन्सले भने विमानबाट फेसबुकमा लाइभ गर्ने क्षमताको नेटवर्क नहुने जनाएको छ ।
यसैबीच, भारतको उत्तर प्रदेशबाट नेपाल घुम्न आएका चार जना मृतकमध्ये एक जना मृतक हुन् सोनू जयसवाल, जो अहिले सामाजिक सञ्जालमा चर्चामा छन् ।
उनी काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागि नेपाल आएका भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।
करिब छ महिनाअघि उनले छोरा जन्माउन गरेको भाकल कामना पुरा भएकोमा उनी पशुपतिनाथ मन्दिरको दर्शन गर्न काठमाडौं आएका थिए ।
सोनुका दुई छोरी छन् । सोनूले तेस्रो सन्तानको रुपमा छोरा जन्मिए यो भने पशुपतिनाथको दर्शन गर्छु भन्ने भाकल गरेका थिए । अहिले सोनूको गाउँ गाजीपुर जिल्लाको गाउँमा सोनु सवार विमान दुर्घटनामा परेको खबर पुगिसकेको छ । उक्त खबरले सोनुको परिवार शोकाकुल बनेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार सोनू आफ्ना तीन जना साथीहरुसंग गत जनवरी १० का दिन नेपाल आएका थिए । नेपालमा उनीहरुले पशुपतिनाथको दर्शन गरे । पशुपतिनाथको दर्शन गरेपछि उनीहरु प्याराग्लाइडिङ गर्नका लागि पोखरातर्फ प्रस्थान गरेका थिए । पोखरमा प्याराग्लाइडिङ गरेपछि उनीहरुले आफ्नो घर गाजीपुर जाने योजना बनाएका थिए ।
सोनुसंगै काठमाडौं र पोखरा घुम्न आएका उनका तीन जना साथीहरु २५ वर्षीय अभिषेक कुशवाहा, २२ वर्षीय विशाल शर्मा तथा २७ वर्षीय अनिल कुमार राजभरको पनि निधन भएको छ ।



















