किएभ । युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ ।
युक्रेनको राजधानी किएभको बाहिरी भेगमा रहेको शिशु पाठशाला नजिक बुधवार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको ज्यान गएको हो । दुर्घटनामा २ जना बालबालिकाको पनि ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासीको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन ।
राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभएको छ । गृह मन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको छ ।
४२ वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुनुहुन्छ । उहाँ २ वर्षअघि गृहमन्त्री नियुक्त हुनुभएको थियो । १० बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटना स्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।



















