विराटनगरस्थित कोसी अस्पतालमा जीवित एक नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट भएको छ । मोरङ जहदा–३ भातिगञ्जका दीलिप मुखियाको १८ दिनकी शिशुलाई कोसी अस्पतालका डा. अनिल यादवले मृत घोषणा गरेका थिए ।
अन्त्येष्टिका लागि भन्दै माइती घर लिएर गएका थिए । तर घर पुगेपछि शिशुले हात खुट्टा पनि चलाएपछि हतार हतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरेका छन् । अहिले गोल्डेन अस्पतालमा एनआइसीयू कक्षमा उपचार भइरहेको छ ।
कोसीमा मृत घोषणा गरेपछि गोल्डेन अस्पतालमा लैजाँदा शिशु जीवित भएको त्यहाँका डाक्टरले बताएपछि आक्रोशित परिवार र आफन्तले डाक्टर यादवमाथि कुटपीट गरेका हुन् ।
शिशुका आफन्तले हातपात गर्दा डाक्टर यादव सामान्य घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । जिउँदै बच्चालाई मृत घोषित गरेको भन्दै हातपातमा उत्रिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।



















