झापाका विभिन्न स्थानबाट भन्सार छलेर भारतबाट ल्याइएका सामानहरू प्रहरीले बरामद गरेको छ ।

दुई दिनको अवधिमा तीन लाख बढी मुल्य बराबरका ती सामानहरू जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको झापा प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले केटिएम दैनिकलाई बताए ।

पाठकका अनुसार शुक्रबार राति मेचीनगर नगरपालिका ६ बसपार्क छेउमा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको अन्दाजी पचार हजार रुपैयाँ मुल्य बराबरको किराना सामान नियन्त्रणमा लिईएको छ ।

त्यस्तै शनिबार बिहान दमक नगरपालिका ७ पशुहाट डाडामा भन्‍सार छलेर भारतबाट ल्याइएको १३५ जोर जुत्ता नियन्त्रणमा लिइएको छ । उक्त जुत्ताको अनुमानित बजार मूल्य एक लाख ५० हजार रहेको छ ।

आज बिहान जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी महारानीझोडाबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरादह नगरपालिका ४ मिलन चौकमा सात बोरा चिनी र दुई कार्टुन बिडी बरामद गरेको छ । उक्त चीनीको बजारमुल्य २८ हजार र बिडिको चार हजार रहेको डिएसपी पाठककले बताए ।

त्यस्तै शनिबार बिहान ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ जेसिका ठ्याक बाट पचास हजार मुल्य बराबरको थानको कपडा नियन्त्रणमा लिएको छ भने भद्रपुर नगरपालिका ७ गार्मेन्ट चोकमा ३१ हजार ५०० मुल्य बराबरको ७ बोरा मैदा नियन्त्रणमा लिएको हो ।

जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सामाग्रहीहरू आवस्यक कार्वाहीको लागी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको डिएसपी पाठककले बताए ।