इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् । सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उनीहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गर्थे ।

विसं २०७३ सालमा उनीहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिए । वार्षिकोत्सवका सहभागी सबैले उनीहरुले पकाएको सेलसोटी औधी मीठो मानी खाए । सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो ।

वार्षिकोत्सवमा सहभागी भएका एकले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा एक सय वटा सेलरोटीको अर्डर दिए । नन्द, भाउजुले भोलिपल्ट सय सेलरोटी पकाएर सहभागीको घरैमा पुर्‍याइदिए । सेलरोटीको प्रसंशा त्यहाँ पनि भयो । यो उनीहरुको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो ।